Research Paper
  • 2023-08-28 13:58:43

कम्प्युटर इन्जिनियरिङ कम्प्युटरको सफ्टवेयर र हार्डवेयरबारे अध्ययन तथा अनुसन्धान गर्ने शिक्षा हो । नयाँ कम्प्युटर कस्तो बनाउने ? त्यो कम्प्युटरका लागि कस्तो सफ्टवेयर आवश्यक छ ? आईटी क्षेत्रमा विश्वमा के हुँदै छ ? नयाँ नयाँ प्रविधिको खोज तथा अनुसन्धान गर्ने र मानिसले गर्ने कामलाई प्रविधिबाट सहज बनाउन सिकाउने शिक्षा कम्प्युटर इन्जिनियरिङ हो । सैद्धान्तिक कुरालाई प्रयोगात्मक रूपमा उतारेर जे समस्या छ, त्यसको समाधान प्रविधिबाट गर्न सिकाउने शिक्षा हो यो ।

सिभिल, आर्किटेक र मेकानिकल इन्जिनियरिङ अध्ययन गरे पनि त्यो क्षेत्रको काम पनि कम्प्युटरको माध्यमबाट हुन्छ । ती कामका लागि सहज बनाउने भनेको कम्प्युटर नै हो । सिभिल इन्जिनियरले पुल बनाउँछन् । तर त्यो पुल ठीक छ कि छैन भनेर कम्प्युटरको सफ्टवेयरबाट पहिले परीक्षण गरिन्छ । यसबाट फिजिबल भएपछि मात्र पुल बनाउने हो । त्यो सफ्टवेयर कम्प्युटर इन्जिनियरले बनाउँछन् त्यसैले दक्ष कम्प्युटर इन्जिनियर उत्पादन गर्ने शिक्षा कम्प्युटर इन्जिनियरिङ हो ।

कस्तो कोर्स हो ?

कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा, स्नातक र स्नातकोत्तर तह अध्ययन गर्न सकिन्छ । स्नातक तहको कम्प्युटर इन्जिनियरिङ कोर्स चारको वर्षको हुन्छ । जसमा ८ वटा समेस्टर हुन्छन् । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले यो कोर्स सञ्चालन गरेका छन् । जसमा ४८ जनाको कोटा हुन्छ । क्यापसको भौतिक संरचना राम्रो भएकाले बढीको संख्यामा पनि कोटा पाउँछन् ।

कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

  • ११ र १२ मा विज्ञान विषय पढेकाले
  • जीपीए २.० ल्याएकाले
  • सीटीईभीटीबाट कम्प्युटरमा डिप्लोमा गरेकाले (४५ प्रतिशत ल्याएको हुनुपर्छ )
  •  ए लेभल पढेकाले
  •  विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेकाले

कति खर्च लाग्छ ?

कम्प्युटर इन्जिनियरिङ पढ्न १०–१२ लाखसम्म खर्च लाग्छ । तर, क्याम्पसले दिने सेवा सुविधाका आधारमा केही फरक हुन सक्छ ।

छात्रवृत्तिको व्यवस्था

गरिब तथा जेहन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । विश्वविद्यालयले कोटाको १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ । विश्वविद्यालयले लिने प्रवेश परीक्षामा बढी अंक ल्याएका र समानुपातिक प्रणालीका आधारमा छात्रवृत्ति दिइन्छ । क्याम्पसहरूले सेमेस्टर टपरलाई पनि छात्रवृत्तिको व्यवस्था गरेका छन् ।

प्राक्टिकल र प्रोजेक्ट वर्क

आईटीसँग सम्बन्धित कोर्स भएकाले प्राक्टिकल र प्रोजेक्ट वर्कलाई विशेष प्राथमिकता दिइन्छ । विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेपछि कार्यक्षेत्रमा गएर सहजै काम गर्न सक्ने गरी प्राक्टिकल र प्रोजेक्ट वर्क गराइन्छ ।

यो अर्टिकल् शिला पत्र बाट सभार गरिएको हो ।